सन् २०२४ को पुरुष तर्फको आइसीसी टी-२० विश्वकपमा नेपालले आफ्नो पहिलो खेल पाँच जुनमा नेदरल्यान्ड्ससँग खेल्दै छ।
यसअघि नेपालले आफ्नो पहिलो क्रिकेट विश्वकप सन् २०१४मा बङ्गलादेशमा खेलेको थियो।
पारस खड्काको नेतृत्वमा पहिलो पटक विश्वकप खेलेको नेपाली टोली क्वालिफायर राउन्डबाट बाहिरिएतापनि उक्त टोलीले पहिलो विश्वकप खेल्दा देखाएको आत्मविश्वासका कारण अन्तर्राष्ट्रिय जगतबाट प्रशंसा बटुलेको थियो।
नेपालको पहिलो विश्वकपलाई फर्किएर हेर्दा
पहिलो विश्वकपमा नेपालले लिग चरणका खेलमा हङकङ र अफगानिस्तानलाई पराजित गरेको थियो भने बङ्गलादेशसँग पराजित भएको थियो।
त्यही भएर पनि दोस्रो पटकको विश्वकपमा नेपालले कस्तो प्रदर्शन गर्ला भन्ने धेरैलाई उत्सुकता रहेको हो।

एक दशकपछि विश्वकपको मैदानमा
दस वर्षको अन्तरालमा नेपाली टोलीमा धेरै परिवर्तन आएको छ।
बङ्गलादेशमा भएको विश्वकप खेलेका खेलाडी मध्ये एक मात्र खेलाडी अहिलेको टोलीमा छन्। उनी हुन्, सोमपाल कामी।

त्यस बाहेक टोलीको प्रशिक्षकदेखि कप्तानसम्म, सबैको लागि यो नौलो अवसर हो।
“विश्वकप खेल्नु गौरवको कुरा भएको र यसलाई सक्दो अविस्मरणीय बनाउने कोसिस गर्ने छौँ,” विश्वकपका लागि जानु अघि संक्षिप्त कुरा गर्दै कप्तान रोहित पौडेलले बताएका थिए।

टी-२० विश्वकपको यो नवौँ संस्करणलाई अमेरिका र वेस्ट इन्डिजले संयुक्त आयोजना गर्दै छन् जसमा २० राष्ट्र प्रतिस्पर्धा गर्दै छन्।
नेपाल नेदरल्यान्ड्स, बङ्गलादेश, दक्षिण अफ्रिका र श्रीलङ्का सम्मिलित समूहमा रहेको छ।
सम्भावना कस्तो देखिएको छ?
नेपालले विश्वकपको सुरुवात नेदरल्यान्ड्स विरुद्धको खेलबाट गर्दै छ।
उक्त समूहमा अन्य सबै टेस्ट राष्ट्र भएकाले पनि नेपाल र नेदरल्यान्ड्सबिचको खेल दुवै देशका लागि निकै महत्त्वपूर्ण रहने मानिएको छ।
"टी-२० क्रिकेट हो, हामीले सत प्रतिशत प्रदर्शन गर्यौँ भने जे पनि हुन सक्छ," राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल भन्छन्।
“बङ्गलादेशले हालै राम्रो प्रदर्शन गरेको छैन त्यसैले हामीले उत्कृष्ट प्रदर्शन गर्न सकेको खण्डमा उक्त खेल पनि रोमाञ्चक हुन सक्छ,” हालै बङ्गलादेशले अमेरिकासँगको सिरिजमा हार बेहोरेको स्मरण गर्दै उनले बताए।
नेपालको तयारी कस्तो छ?
विश्वकप अघि सक्दो धेरै अभ्यास खेल खेल्न र त्यहाँको 'कन्डिसन'सँग अभ्यस्त हुन नेपाली टोली करिब एक महिना अघि वेस्ट इन्डिज पुगेको थियो।
त्यहाँ रोहित पौडेलको टोलीले तीन वटा म्याच खेलेको थियो भने अमेरिकामा पनि केही म्याच खेलेको थियो।
यसका साथै क्यानडा र अमेरिकासँग वार्मअप म्याच खेल्ने तालिका थियो, जसमध्ये क्यानडासँगको खेल ६३ रनले हारेको नेपालको खेल अमेरिका विरुद्ध भने वर्षाका कारण रद्द भएको थियो।
यसैबिच नेपालका ब्याटर दिपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले हालै सार्वजनिक गरेको अल राउन्डरहरुको सूचीमा १० औँ स्थानमा परेका छन्।
यसले पनि नेपाली टोलीको मनोबल बढाउने देखिएको छ।
अभ्यास खेलको क्रममा ऐरीलाई चोट लागेको थियो तर हाल उनी पूर्व रूपमा ‘फिट’ रहेको टोलीले जनाएको छ।
चुनौती के-कस्ता छन्?
तर नेपाली टोलीका पूर्व छनोटकर्ता विजय शर्मा भने नेपाल कठिन समूहमा परेकोले सोचे जस्तो नतिजा ल्याउन सहज नहुने बताउँछन्।
''वेस्ट इन्डिजमा नेपालले राम्रो गर्यो भन्ने धेरैलाई लागेको छ तर जुन टोलीसँग नेपालले खेल्यो त्यो त्यति सशक्त थिएन,'' शर्माले बताए।
''विश्वकपमा सबै राष्ट्र राम्रो गर्ने उद्देश्यले आउँछन्। नेपालको पनि त्यही हो तर हामीले बुझ्नु पर्ने कुरा के हो भने श्रीलङ्का, दक्षिण अफ्रिका र बङ्गलादेश नेपालको समूहमा छन्।''
त्यसैले नेदरल्यान्ड्ससँगको पहिलो खेल नै नेपालको लागि सबैभन्दा महत्त्वपूर्ण हुने उनको भनाइ छ।
''नेपालको उद्देश्य राम्रो सुरुवात गर्ने हुनु पर्छ। तर नेदरल्यान्ड्स बलियो टोली हो र उसलाई पराजित गर्न नेपालले ब्याटिङ र बलिङ मात्र होइन फिल्डिङ पनि उत्तिकै राम्रो गर्नु पर्ने हुन्छ।''
