Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

चीनमा कोरोनाभाइरस पत्ता लागेको तीन वर्ष पुरा हुँदा यसले विश्वमै ल्याएको परिवर्तन

Covid-19 Omicron sign

Digital generated image of different variants of COVID-19 cells against gray background. Omicron Civid variant concept. Source: Moment RF / Andriy Onufriyenko/Getty Images

चीनमा एक नयाँ किसिमको भाइरस पत्ता लागेको तीन वर्ष पुरा हुँदा यसले विश्वमा ल्याएको परिवर्तनका घटनाक्रमहरूलाई फर्किएर हेर्दै छौँ।


Published

By Charis Chang, Ken Macleod

Presented by Sunita Pokharel

Source: SBS




Share this with family and friends


चीनमा एक नयाँ किसिमको भाइरस पत्ता लागेको तीन वर्ष पुरा हुँदा यसले विश्वमा ल्याएको परिवर्तनका घटनाक्रमहरूलाई फर्किएर हेर्दै छौँ।


सन् २०१९ को डिसेम्बर ३१ मा चीनले आफ्नो वुहान सहरमा निमोनियाका मामिलाहरू देखिएको तर त्यसको कारणबारे थाहा नभएको बतायो। यसलाई पछि नोवेल कोरोनाभाइरस भनेर चिनियो।

पहिलो मामिला वुहानको हुआनान सीफूड बजारसँग जोडेर हेरियो।

त्यति बेला वुहान कोभिड-१९ फैलावटको केन्द्र बन्यो जब मानिसहरू रहस्यमय किसिमको निमोनियाका कारण गम्भीर बिरामी हुन थाले।

अस्ट्रेलियामा पहिलो कोभिड-१९ मामिला पुष्टि सन् २०२० को जनवरी २५ मा भएको थियो।

तर ब्ल्याक समर बुस फायरका रूपमा चिनिने न्यु साउथ वेल्स र भिक्टोरियामा दन्किएको डढेलोका कारण यो विषय ओझेलमा पर्‍यो।

अस्ट्रेलियाले एक विपद्को सामना गर्ने बित्तिकै अर्को विपद् सुरु भएको जस्तो देखियो जब रहस्यमय भाइरस विश्वभर फैलिएर असहज परिस्थिति बन्यो।

सन् २०२० जनवरी ३० मा विश्व स्वास्थ्य सङ्गठनले सो फैलावटलाई अन्तर्राष्ट्रिय चिन्ताको सार्वजनिक स्वास्थ्य आपत्काल भनेर घोषणा गर्‍यो र मार्च ११ मा कोभिड-१९ लाई महामारी घोषित गरियो।

अस्ट्रेलियामा कस्तो रह्यो त घटनाक्रम?

फेब्रुअरी १, २०२० मा सङ्घीय सरकारले यात्रा प्रतिबन्धहरू र चीनबाट आउनेहरूका लागी क्वारेन्टिनमा बस्नु पर्ने नियम ल्यायो।

र आगामी केही दिनहरूमा वुहानबाट आएका दुई समूहहरूलाई क्रिसमस आइल्याण्ड र डार्विन नजिक रहेको हावर्ड स्प्रिङमा क्वारेन्टिनमा राखियो।

सोही वर्ष मार्च १० मा स्वास्थ्य मन्त्री ग्रेग हन्टले अस्ट्रेलियामा कोभिड-१९ का १ सय मामिलाहरू रहेको उद्घोष गरे।

र त्यसको एक दिन पछि सङ्घीय सरकारले कोभिड-१९ लाई सम्बोधन गर्न २ अर्ब ४० करोड डलरको स्वास्थ्य प्याकेज ल्याउने घोषणा गर्‍यो।

मार्च १२, २०२० मा सरकारले १७ अर्ब ६० करोड डलरको र महिनाको अन्त्यतिर ६६ अर्ब डलरको सहायता प्याकेजको घोषणा गर्‍यो। भोलिपल्ट राष्ट्रिय मन्त्रिमण्डल गठन भयो।

मार्च १८ मा अस्ट्रेलियाका बासिन्दा बाहेकका लागि आफ्नो सीमा बन्द गरेर यस्तो गर्ने विश्वका पहिलो राष्ट्रहरू मध्ये परेको थियो।

यति बेला भने धेरै अस्ट्रेलियालीहरूले के हुँदै छ भनेर ध्यान दिन सुरु गरेका थिए। अनि सुपर मार्केटका तखताहरू खाली गर्न थाले आत्तिएर सामानहरू किनेर।

राज्य तथा प्रदेशहरूले विभिन्न किसिमका आपतकालिन मापदण्डहरू ल्याउन सुरु गरेका थिए र मार्च महिनाको अन्त्यसम्ममा अति आवश्यक नभएका व्यवसायहरूलाई बन्द गर्नै पर्ने भयो भने सामाजिक दुरीको मापदण्ड पनि ल्याइयो।

भिक्टोरिया र न्यु साउथ वेल्सले आफ्ना बासिन्दाहरूलाई लकडाउनमा राखे।

साउथ अस्ट्रेलिया, क्वीन्सल्याण्ड, वेस्टर्न अस्ट्रेलिया र टास्मेनिया लगायतले आफ्ना सीमा बन्द गरे भने यात्रुहरूले १४ दिनसम्म क्वारेन्टिनमा बस्नु पर्ने नियम ल्याइयो।

महिनौँ लामो प्रतिबन्धहरू र लकडाउन सङ्क्रमण सङ्ख्या तुलनात्मक रूपमा कम राख्न प्रभवकारी रहेका थिए।

विभिन्न खोपहरूको विकास भयो र सन् २०२१ अक्टोबर २० मा ७० प्रतिशत अस्ट्रेलियालीहरूले दुवै मात्रा खोप लगाइसकेका थिए।

यसलाई प्रतिबन्धहरू खुकुलो बनाउने कोशे ढुङ्गाका रूपमा हेरिएको थियो र भयो पनि त्यस्तै।

तर वर्षको अन्त्यतिर नयाँ ओमिक्रन भेरिएन्टले पकड जमाउन थाल्यो। र सन् २०२१ डिसेम्बर सम्ममा यो देशभर फैलिएको थियो।

अस्ट्रेलियामा १२ हजार मानिसहरूको मृत्यु भयो र यो सङ्ख्या विश्वव्यापी रूपमा १० औँ लाख रहेको थियो।

सन् २०२१ को अक्टोबर भन्दा अगाडी सम्म आर्थिक सहकार्य तथा विकास सङ्घका राष्ट्रहरू मध्ये अस्ट्रेलियामा प्रतिव्यक्ति सङ्क्रमण पुष्टि हुनेहरूको सङ्ख्या दोस्रो कम रहेको थियो।

त्यसमा न्युजिल्यान्डको सबैभन्दा कम सङ्क्रमण दर रहेको थियो।

मार्च २०२२ को सुरुवात तिर अस्ट्रेलिया झरेर पाँचौँ स्थानमा पुगेको थियो र त्यसको सबैभन्दा ठुलो कारक रह्यो ओमिक्रन सङ्क्रमणमा देखिएको वृद्धि।

महामारीको पहिलो वर्षमा अस्ट्रेलियामा ८ सय ९८ जनाले ज्यान गुमाएका थिए, यो सन् २०२० मा मृत्युको प्रमुख कारणहरूमा ३८ औँ स्थानमा थियो।

८ सय ९८ मृत्यु मध्ये ८ सय भिक्टोरियामा भएका थिए।

त्यसको १८ महिना पछि यो सङ्ख्या बढेर अस्ट्रेलियामा ८ हजार भन्दा बढीको मृत्यु भइसकेको थियो।

सन् २०२२ को जुन महिना सम्म ८ हजार २ सय १९ मृतकहरूमा कोभिड-१९ देखिएको थियो।

पछिल्लो तथ्याङ्कका अनुसार सेप्टेम्बर ३० २०२२ मा कोभिड सङ्क्रमित १२ हजार ५ सय ५ जनाको मृत्यु भएको पाइन्छ।

२३ डिसेम्बर २०२२ सम्म विश्वभर ६६ लाख ५६ हजार ६ सय १ कोभिड सङ्क्रमितको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठनको भनाइ छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now