सुरु भयो दशैं
सोमवारबाट दशैं सुरु भएको छ। आम मानिसले आ- आफ्नो घरमा घटस्थापना राखेर दशैं सुरु गरेका छन्। यस्तै काठमाण्डूको वसन्तपुरमा रहेको हनुमान ढोका दरबारको दशैं घरमा पनि घट स्थापन गरिएको छ।
काठमाण्डूका विभिन्न स्थानमा रहेका व्यापारीहरूले भने देशमा हालै भएका आन्दोलनका कारण अन्य वर्षको तुलनामा बजारमा चहलपहल नभएको बताएका छन्।
मन्त्रिपरिषद् विस्तार, थपिए चार मन्त्री
अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेकी छन्। उनको मन्त्रिमण्डलमा सोमवार चार जना मन्त्री थपिएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले महावीर पुन, जगदीश खरेल, मदन परियार र अनिलकुमार सिन्हाको सोमबार शपथ ग्रहण गरेका हुन्।
पुन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री, खरेल सञ्चार, सूचना तथा प्रविधि मन्त्री, परियार कृषि मन्त्री र सिन्हा उद्योग तथा भूमिसुधार मन्त्री नियुक्त भएका हुन्। यसअघि प्रधानमन्त्री कार्की सहित मन्त्रिपरिषद्मा तीन जना मन्त्री रहेका थिए।

गठन भयो जाँचबुझ आयोग, म्याद तीन महिना
सरकारले पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा जेन जी आन्दोलनको क्रममा भएको दमन, तोडफोड र आगजनीको न्यायिक जाँचबुझ गर्न उच्चस्तरीय आयोग गठन गरेको छ।
आइतवार बसेको मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको हो।
आयोगका अन्य सदस्यहरूमा पूर्व एआइजी विज्ञानराज शर्मा र कानूनविद् विश्वेश्वरप्रसाद भण्डारी रहेका छन्।
आयोगले काम सकेर प्रतिवेदन बुझाउनका लागि तीन महिनाको समय पाएको छ।
सेप्टेम्बर आठ र नौमा भएका प्रदर्शन र आन्दोलनमा कम्तीमा ७४ जना मृत्यु भएको र दुई हजारभन्दा बढी घाइते भएको बताइएको छ।
आन्दोलनका क्रममा देशका विभिन्न स्थानमा रहेका सरकारी र निजी सम्पत्तिमा आगजनी एवं तोडफोड भएको थियो।
थप सुन्नुहोस्

आम नेपालीको चाहना: ‘यस्तो भए हुन्थ्यो...’
विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाउँदै सरकार
सरकारले विदेशमा रहेका नेपालीलाई निर्वाचनमा सहभागी गराउने तयारी गरिरहेको गृहमन्त्री ओमप्रकाश अर्यालले बताएका छन्।
यसका लागि सरकारले निर्वाचन आयोगसँग कुराकानी पनि गरेको छ।
विद्यमान कानून अनुसार विदेशमा रहेका नेपालीको मतदाता नामावली सङ्कलन गर्न बाधा भएकाले कानून संशोधन गरेर भए पनि अघि बढ्ने सोच सरकारको रहेको मन्त्री अर्यालले बताएका हुन्।
विदेशमा मतदान केन्द्र स्थापना गरेर समानुपातिक निर्वाचन प्रणालीमा विदेशमा रहेका नेपालीहरूलाई समावेश गर्ने सरकारको योजना रहेको उनले बताए।

सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीलाई समेत मतदानको अवसर दिलाउनु भनी २०७४ सालमा आदेश दिएको थियो। तर त्यो कार्यान्वयनमा भने आउन सकेको छैन।
सन् २०२६को मार्च ५ का लागि तोकिएको निर्वाचनमा उमेरका हिसाबले मतदान गर्न योग्य तर हाल मतदाता नामावलीमा नाम नभएका युवाहरूलाई पनि समेट्नका लागि सरकारले हालको कानून संशोधन गर्ने मन्त्री अर्यालले बताए।
नेपालको कानून अनुसार मतदान गर्नका लागि १८ वर्ष पुगेको हुन पर्दछ। जेन-जीहरुले सरकार समक्ष मतदाता नामावलीमा नाम समावेश गर्न पाउनु पर्ने माग राखेका छन्।
कानून अनुसार निर्वाचनको मिति घोषणा भएपछि मतदाता थप्न पाइँदैन।
युएईले भिसामा कडा गर्दा क्रिकेट टिम मारमा
युनाइटेड अरब इमिरेट्स (युएई) ले नेपालीलाई भिजिट र कामदार भिसा दिन कडाइ गरेको छ।
यस विषयमा नेपालस्थित युएईको दूतावासले औपचारिक जानकारी भने दिएको छैन तर म्यानपावर व्यवसायीहरूका अनुसार केही साता यता युएईले नेपालीहरूलाई भिसा दिन कडाइ गरेको छ।
यसको मारमा राष्ट्रिय क्रिकेट टिम पनि पर्यो। सेप्टेम्बर २७ देखि ३० सम्म युएईको सारजाह क्रिकेट स्टेडियममा वेस्ट इन्डिजसँग टि-२० क्रिकेट खेल्न नेपाली राष्ट्रिय टोली शुक्रवार त्यस तर्फ प्रस्थान गर्ने तालिका रहेको थियो।
तर युएईको भिसा नआएका कारण टिम निर्धारित दिनमा उड्न सकेन। त्यसपछि नेपाल क्रिकेट सङ्घ (क्यान)ले इमिरेट्स क्रिकेट बोर्डसँग भिसाको लागि समन्वय गर्नु परेको थियो।
क्यानले आइतवार एक विज्ञप्ति जारी गर्दै नेपाली टोलीको भिसा आएको जानकारी दियो। नेपाली टोली युएईका लागि सोमवार प्रस्थान गरेको क्यानले जनाएको छ।
घुस मागे गुनासोका लागि अर्थ मन्त्रालय
कर्मचारीले घुस मागे गुनासो गर्न सकिने व्यवस्था सरकारले ल्याएको छ। सेवाग्राहीले इमेल मार्फत गुनासो दर्ता गर्न सक्ने अर्थ मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार घुस मागेको वा काममा अनावश्यक रूपमा ढिला सुस्ती गरेमा वा सेवा प्रवाहमा कठिनाइ भएमा गुनासो गर्न पाइने छ। यसका लागि सिधै अर्थमन्त्री रामेश्वर खनाललाई उनको इमेलमा वा मन्त्रालयलाई इमेल गरी गुनासो गर्न पाइने मन्त्रालयले जनाएको छ।
जेन-जी आन्दोलनका कारण मारमा परेका उद्योग व्यवसायलाई सरकारले राहतका सुविधा दिने निर्णय गरेको छ।
राहत स्वरूप आन्दोलनका क्रममा क्षति भएका उद्योग तथा व्यवसायले पुनर्निर्माण लागि आयात गर्ने सामाग्रीमा ५० प्रतिशत छुट पाउने अर्थमन्त्री खनालले बताए।
सरकारले पुनर्निर्माण तयारी गरेको र यसका लागि एउटा कोष स्थापना गरिने बताइएको छ। यसबारे आइतबार बसेको मन्त्रीपरिषद् बैठकले गरेको निर्णय बारे अर्थमन्त्री खनालले बताए।
नेपाल तेस्रो विश्व माउन्टेन र ट्रेल रन च्याम्पियनसिपमा सहभागी
नेपालका चार खेलाडी तेस्रो विश्व माउन्टेन र ट्रेल रन च्याम्पियनसिपमा सहभागी हुने भएका छन्। च्याम्पियनसिप सेप्टेम्बर २४ देखि २९ सम्म स्पेनको क्यान फ्रान्कमा हुनेछ। जसमा नेपालका सुमन कुलुङ्, साङ्गे शेर्पा, मनकुमार रोका र सुनमाया बुढाले भाग लिने छन्।
नेपाल एड्भेन्चर रनिङ फेडेरेसनका अनुसार चारै खेलाडीले सिङ्गल लामो दुरीको ट्रेल रन इभेन्टमा प्रतिस्पर्धा गर्नेछन्।
थप सुन्नुहोस्

आम नेपालीको चाहना: ‘यस्तो भए हुन्थ्यो...’


















