नेपाली पर्वतारोही निर्मल पुर्जामाथि बनाइएको वृत्तचित्र ‘फोर्टिन पिक्स‘ सार्वजनिक भएसँगै चर्चाको शिखरमा छ। काठमाण्डूबाट सेवा भट्टराईको रिपोर्ट।
पुर्जाले सन् २०१९ मा ८००० मिटर माथिका सबै हिमाल सात महिनामा चढेर नयाँ विश्व कीर्तिमान कायम गरेका थिए।
सर्वप्रथम यी विश्वका सर्वोच्च हिमाल चढ्न पर्वतारोही रेइनहोल्ड मेसनरले १६ वर्ष लगाएका थिए भने यो भन्दा अगाडिको विश्व कीर्तिमान सात वर्षको थियो।
ब्रिटिस सेनामा कार्यरत पुर्जाले आफ्नो जागिर छोडेर सन् २०१९ मा नेपालको सगरमाथा देखि पाकिस्तानको के टु र तिब्बतसम्मका शिखर चढेका थिए।
त्यस क्रममा उनले आफैँले खिचेका वा ड्रोनले खिचेका दृश्य यो वृत्तचित्रमा राखिएका छन्।
रिपोर्ट सुन्नुहोस्: null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
यी मध्ये केही दृश्य संसारमै पहिलो पटक पर्वतारोही बाहेकका मानिसका लागि उपलब्ध भएका हुन्।
सोमबार भएको वृत्तचित्रको नेपाल प्रिमियरमा बोल्दै पुर्जाले भने, "मेरो उद्देश्य भनेको संसारलाई यो देखाउनु थियो कि कोही मान्छे कहाँबाट आएको हो, त्यसले केही फरक पर्दैन। केही पनि असम्भव छैन।"
"त्यसका साथै म नेपाली पर्वतारोहीको नाम राख्न चाहन्थेँ। यहाँ सिक्न सकिने धेरै पाठ छन्। यो एउटा यस्तो मान्छेको कथा हो जो एकदमै साधारण पृष्ठभूमिबाट आएर पनि मेहनत गरेर, ठुलो सपना राखेर, लागि परेर दृढ भएर म यहाँ आइपुगेँ। अब म संसारको उचाइमा छु।"
यस भन्दा अगाडि यो वृत्तचित्र नोभेम्बर १३ मा अमेरिकी शहर न्युयोर्कमा पहिलो पटक देखाइएको थियो र युरोपमा पनि यसको प्रिमियर भइसकेको छ।
थुप्रै चलचित्र समीक्षकले यसलाई राम्रो प्रतिक्रिया दिइसकेका छन्।
साथै, पुर्जाको आरोहणका बारेमा ‘बियण्ड पसिबल’ नामक पुस्तक पनि भर्खरै बजारमा आएको छ।
पुर्जाले जलवायु परिवर्तनले हिमालय क्षेत्रमा धेरै क्षति गरिरहेको आफ्नै आँखाले देखेको भन्दै जलवायु परिवर्तनका विरुद्धमा पनि सबैले काम गरिरहनु पर्ने सन्देश दिएका छन्।
यसका साथै पुर्जाले ब्रिटिस गोर्खाका मुद्दा र पर्वतारोहणका पथप्रदर्शक शेर्पाका मुद्दामा पनि आवाज उठाइरहेका छन् र हिमालहरू सफा गर्ने काममा पनि हात हालेका छन्।
पुर्जाले गत वर्ष पहिलो पटक पाकिस्तानको के टु जाडो याममा चढेर फेरी नयाँ कीर्तिमान पनि कायम गरेपछि उनीसँग कूल १० वटा विश्व कीर्तिमान भएका हुन्।



![[JPG]_How-Australia-Works_Ep1.jpg](https://assets.sbs.com.au/dims4/default/d1d4da1/2147483647/strip/true/crop/3200x1800+0+0/resize/1280x720!/quality/90/?url=https%3A%2F%2Fsbs-au-brightspot.s3.ap-southeast-2.amazonaws.com%2Fe9%2F46%2F56cf4ff54074a36476e0bcb73e13%2Fjpg-how-australia-works-ep1.jpg&imwidth=1280)
![[JPG]_How-Australia-Works_Ep0.jpg](https://assets.sbs.com.au/dims4/default/9a0f61e/2147483647/strip/true/crop/3200x1800+0+0/resize/1280x720!/quality/90/?url=https%3A%2F%2Fsbs-au-brightspot.s3.ap-southeast-2.amazonaws.com%2F8f%2F15%2F83a000db458f9fc153fde8cde907%2Fjpg-how-australia-works-ep0.jpg&imwidth=1280)
