

Published
Updated
सन् २०२२को पछिल्लो जनगणनाका अनुसार अस्ट्रेलियामा नेपालमा जन्मेका मानिसहरूको सङ्ख्या सन् २०१६ को तुलनामा ८३.७ प्रतिशतले बढेको छ।
यस्तै, सन् २०१६ देखि २०२१ को पाँच बर्षको अवधिमा नेपाली भाषा बोल्ने मानिसहरूको सङ्ख्या ११४.६ प्रतिशतले बढेको थियो।
सन् २०१६ मा नेपालमा जन्म भएका ५१,८७७ जना अस्ट्रेलियामा रहेका थिए भने नेपालीभाषीहरूको सङ्ख्या ६२,००४ जना थियो।
केहीले सडक दुर्घटनामा ज्यान गुमाएका छन् भने कसैको पानीमा डुबेर मृत्यु भएको छ।
आफ्नो परिवारका सदस्य, नजिकका आफन्त वा साथीभाइको मृत्यु हुँदा, अब के गर्ने वा कसको सहयोग माग्ने भन्ने जस्ता अन्यौलता समुदायका सदस्यहरूमा छाउन सक्छ।

स्पिरो हरल्याम्बस, सिड्नी स्थित अन्त्येष्टि समारोह आयोजना गर्ने एक कम्पनीमा फ्युनरल डिरेक्टरका रूपमा कार्यरत छन्।
उनी भन्छन् कि व्यक्तिको मृत्युको कारण वा उनीहरूको कुन अवस्थामा मृत्यु भएको हो भन्ने कुराले अस्ट्रेलियामा अन्त्येष्टि सम्बन्धी आगामी कदम निर्धारण हुन्छ।
“मानौँ, कसैको अस्पतालमा मृत्यु भयो भने, डाक्टरहरूले मृत्युको कारण उल्लेख भएको सर्टिफिकेट दिन्छन् र फ्युनरल कम्पनीको मातहतमा, मृत शरीर अस्पतालबाट लैजानका लागि अनुमति पाइन्छ,” उनले एसबीएस नेपालीसँग भने।
मृत्युको कारण पत्ता लागेको अवस्थामा प्रक्रिया सहज हुने भएता पनि, कुनै दुर्घटना वा अकस्मात् रूपमा ज्यान गएको अवस्थामा भने प्रहरी र कोरोनर भनिने मृत्युको जाँच गर्ने फरेन्सीक विभागको पनि संलग्नता हुने हरल्याम्बस बताउँछन्।
हत्या, आत्महत्या, कारण नखुलेको मृत्यु जस्ता कुरामा ‘कोरोनियल इन्क्वेस्ट’ हुन्छ र यस्तो अवस्थामा प्रक्रिया लम्बिन सक्छ। यस्तो अवस्थामा प्रक्रिया दुई हप्तासम्म पनि चल्न सक्छ।स्पिरो हरल्याम्बस
हाल गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलिया अन्तर्गतको न्यु साउथ वेल्सका संयोजक रहेका देवबहादुर गुरुङको पनि यस्तै अनुभव छ।
“सबैभन्दा पहिले पुलिसको इन्भल्भमेन्ट हुन्छ, हस्पिटल लग्नुपर्ने हो कि हैन भन्ने उनीहरूले निर्क्योल गर्छन् अनि या त सिधै अस्पताल लगिन्छ वा कोरोनर कहाँ,” गुरुङले भने।
न्यु साउथ वेल्समा चाहिँ (मृत शरीरलाई) लिडकममा रहेको कोरोनर कहाँ लैजाने गरिन्छ। कोरोनरले मृत्युको प्रारम्भिक कारण पत्ता लगाएपछि, अन्त्येष्टिका लागि अनुमति दिने गरेका छन्।देवबहादुर गुरूङ

फ्युनरल कम्पनीको भूमिका
अस्ट्रेलियामा मानिसको मृत्यु पछि, फ्युनरल कम्पनीहरूको भूमिका निकै महत्त्वपूर्ण रहने बताइन्छ।
दाहसंस्कारको व्यवस्थापन गर्ने यस्ता कम्पनीहरूले शवको जिम्मा लिइदिने काम मात्रै गर्दैनन्, कोरोनरसँग छलफल पनि गर्ने गर्छन्।
कोरोनरको कार्यालयबाट दाहसंस्कारका लागि अनुमति आएसँगै फ्युनरल कम्पनीहरूले मृत्यु दर्ता गर्ने, दाहसंस्कारका लागि व्यवस्था मिलाउने र मृतकको शरीरलाई अरू देश पठाउनु पर्ने भए सम्बन्धित निकायहरूबाट अनुमति लिने जस्ता अन्य कागजी प्रक्रियाहरू पनि पुरा गर्छन्।
यसका साथै उनीहरूले मृतकको अन्तिम इच्छा वा उनीहरूका आफन्तका निर्देशन अनुसार अन्त्येष्टि पनि गरिदिन्छन्।

फ्युनरल कम्पनीलाई कहिले सर्म्पक गर्ने त?
स्पिरो हरल्याम्बस भन्छन् कि आफन्तको मृत्यु पछि जति सक्दो चाँडो, अन्त्येष्टि आयोजना गर्ने कम्पनीलाई सम्पर्क गर्नुपर्छ।
कोरोनर कार्यालय मार्फत सोसल वर्करले आफन्तसँग सम्पर्क गर्ने भएता पनि, कागजपत्र र प्रक्रियालाई छिटो सम्पन्न गराउन फ्युनरल कम्पनीहरूले मद्दत गर्ने उनी बताउँछन्।
“फ्युनरल डिरेक्टरले आवश्यक कागजपत्र बनाउन र अन्त्येष्टि आयोजनाको व्यवस्था गर्न ठुलो भूमिका खेल्छन्,” उनले भने।
फ्युनरल कम्पनीले प्रहरी, कोरोनर अनि कन्सुलेट लगायतका सबै निकायसँग समन्वय गर्ने भएकाले, उनीहरूलाई यथाशीघ्र अन्त्येष्टि कसरी गर्ने भन्ने बारेमा जानकारी दिनु आवश्यक हुने भनाई देवबहादुर गुरुङको छ।
“नेपाल लैजानु पर्ने अवस्थामा चाहिँ कोरोनर कहाँबाट शव लागेको सातदेखि १० दिन भित्र अनि यहीँ अन्त्येष्टि गर्ने भए चाहिँ सामान्यतया पाँच दिन भित्र प्रोसेस भइसक्छ,” उनले भने।
कोरोनरको मुख्य काम भने मृत्युको वास्तविक कारण पत्ता लगाउनु हो।
यदि कसैको मृत्यु शङ्कास्पद छ वा मृत्यु हुनुको प्राकृतिक कारण देखिँदैन भने यस्ता मामिलाको अनुसन्धान अस्ट्रेलियामा कोरोनरद्वारा सम्पन्न हुन्छ।

शवलाई कोरोनरकहाँ लगिएको छ भने अनुसन्धान नसकिएसम्म आफन्तले शव पाउँदैनन्।
शङ्कास्पद मृत्यु बाहेकको अवस्थामा, छानबिन पछि मृतकको शरीर आफन्तलाई दाहसंस्कारका लागि जिम्मा लगाइन्छ।
तर, थप जाँच गर्नु परेमा वा कोरोनर ‘बिजी’ भए प्रक्रियामा केही ढिलाइ हुन सक्ने हरल्याम्बसको भनाई छ।
फ्युनरल कम्पनीको मातहतमा मृतकको शरिर आएपछि बल्ल अन्त्येष्टि प्रक्रिया सुरू हुन्छ।
व्यक्तिगत परिस्थिति, मृतकको इच्छा, संस्कार वा परम्परा अनुसार जलाउने वा गाड्ने भन्ने बारेमा आफन्तले निर्णय लिन सक्छन्।
तर यसका लागि भने आफन्तले अनुमति पत्रमा हस्ताक्षर गरेको हुनुपर्ने स्पिरो हरल्याम्बस बताउँछन्।
उनी भन्छन् कि राज्य वा प्रदेश अनुसार सेवा शुल्क फरक पर्ने भएता पनि मृतकको शरिर अस्ट्रेलिया बाहिर लग्न, देश भित्रै अन्त्येष्टि गर्नुभन्दा महँगो पर्छ।
“सिड्नी कै कुरा गर्ने भने पनि दाहसंस्कार यहीँ गरेर अस्तु मात्र लैजाने खर्च नै ३३ सय डलरबाट सुरु हुन्छ,” उनले भने।
कतिपय मानिसहरूको इच्छा, मृत्यु पछि आफ्नो दाहसंस्कार आफु जन्मेकै वा आफन्तहरू बस्ने देशमा नै होस् भन्ने हुन सक्छ।
अस्ट्रेलियामा मृत्यु भएका मानिसहरूको शरिर देश बाहिर लान पनि फ्युनरल कम्पनीहरूले नै व्यवस्था गरिदिन्छन्।
तर सबै फ्युनरल कम्पनीहरूले यो सुविधा दिँदैनन्।
त्यसैले, ‘सर्भिस अग्रिमेन्ट’मा सहि गर्नु अघि नै आफूलाई चाहिएको सेवा सुविधा बारे सोधखोज र चर्चा गर्नु जरूरी हुन्छ।

हरल्याम्बसका अनुसार मृतकको शरिर अस्ट्रेलिया बाहिर लैजाने हो भने ‘डकुमेन्टेसन’ निकै जरूरी हुन्छ।
कोरोनरले शव व्यवस्थापन गर्नका लागि दिएको अनुमति, मृत्यु दर्ताको प्रमाण पत्र, इन्फेक्सन क्लियरेन्स रिपोर्ट लगायतका कागजपत्र आवश्यक रहने उनी बताउँछन्।
शवलाई कुहिन नदिन ‘इम्बाल्म’ गरेर कफिन भित्र राखिन्छ र विमान मार्फत तोकिएको देश पठाइन्छ।स्पिरो हरल्याम्बस
उनी अगाडि भन्छन् कि ‘डेड बडीको डेस्टिनेसन कन्ट्री’को कानूनी प्रकियाहरूबारे पनि थाहा पाउन जरूरी छ।
“रिप्याट्रिएसन प्रोसेसमा डिपार्टमेन्ट अफ हेल्थ र एम्बेसीको पनि संलग्नता हुन्छ,” स्पिरो हरल्याम्बसले भने।
सामान्यतया अस्ट्रेलियामा मृत्यु दर्ता गर्नका लागि दुईदेखि तीन हप्ता लाग्ने भएता पनि ‘रिप्याट्रिएसन’ गर्नु पर्ने भए चाहिँ यो सुविधा २४ घण्टा भित्रै पाइने पनि उनको भनाई छ।
नेपालसम्म मृतक आफन्तको शरिर लग्न चाहिँ कतिसम्म खर्च लाग्छ त?

फ्युनरल कम्पनीहरूले कागजपत्र बनाउने देखि शव सम्बन्धित देशमा पुर्याउँदासम्मको शुल्क प्राय: एकमुष्ट रूपमा लिने बताइन्छ।
नेपालसम्म शव पुर्याउँदा ६६०० देखि ७,००० डलरसम्म लाग्न सक्ने हरल्याम्बसको भनाई छ।
“फ्युनरल कम्पनीको फी, डिपार्टमेन्ट अफ हेल्थलाई तिर्नुपर्ने रकम, हवाई ढुवानी र यातायात सम्बन्धी सबै जोडेर ७,००० डलरसम्म लाग्न सक्छ,” उनले भने।
शव आइपुग्ने समयका बारेमा विमान कम्पनीहरूले आफन्तलाई जानकारी गराउने चलन छ।
मृत शरिर नेपाल पुगेपछि भने त्रिभुवन विमानस्थलमा कार्गो विभागबाट क्लियरेन्स लेटर लिनुपर्ने नियम छ।
उक्त पत्र प्राप्त गरेपछि मात्रै दाहसंस्कार गर्ने स्थानमा शवलाई लिएर जान मिल्छ।
