समसामयिक विषयहरूमा चाहिँ अस्ट्रेलियासँग सम्बन्धित के कस्ता विषयहरू परे त एक पटक फर्केर हेरौँ।
- वर्षको सुरुवात तिरै तात्कालिन प्रधानमन्त्री स्कट मोरिसनले सन् २०२२ को सङ्घीय निर्वाचन हुने मितिको घोषणा गरे । र त्यसपछिका दिनहरूमा निर्वाचनसँग सम्बन्धित जानकारी मूलक तथा समसामयिक विषयहरूलाई हामीले प्राथमिकताका साथ राख्यौँ।
- सङ्घीय निर्वाचन पूर्व एसबीएसद्वारा सञ्चालन गरिएको निर्वाचन अन्तरक्रियात्मक कार्यक्रमका लागि एसबीएस नेपालीले टास्मेनियाका नेपाली समुदायहरूका चिन्ता र चासोहरूलाई पनि अगाडी ल्याएको थियो।
- वैशाख २६ गते देखि प्रारम्भिक मतदान केन्द्रहरू खुलेका थिए भने जेठ ७ गते अस्ट्रेलियाको सङ्घीय निर्वाचन सम्पन्न भयो जसमा अस्ट्रेलियाले आफ्नो ३१औँ प्रधानमन्त्रीको रूपमा एन्थोनी एल्बनिजीलाई निर्वाचित गर्यो।
- हामीले नेपालबाट मलेसिया हुँदै मेलबर्न र त्यहाँबाट केर्न्स पुग्नु पर्ने ७४ वर्षीय नरमाया खाती मेलबर्न टलामरिन अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेको र समुदायको सहयोगले अन्ततः सकुशल आफ्नो परिवार कहाँ पुगेकोबारे लेखेका थियौँ।
- हालसम्म कै न्यून ०.१० प्रतिशत रहेको ब्याजदरलाई ०.२५ अङ्कले वृद्धि गदै ०.३५ प्रतिशत पुर्याइने रिजर्भ ब्याङ्कको निर्णयबाट सुरु भएको ब्याजदर वृद्धिको सिलसिला वर्षैभरि जस्तो जारी रह्यो। र निरन्तर हामीले यसका प्रभाव लगायतका बारेमा समाचार मार्फत सुसूचित गरायौँ।
- असारमा अस्ट्रेलियाका नेपाली समुदायका लागि एक दुखद खबर आयो, सिड्नीको एक रेस्टुरेन्ट आगलागीमा परि घाइते भएका नेपालीको मृत्यु भएकोबारे। हामीले सो घटनाको निरन्तर अपडेट त दियौँ नै साथै कार्यस्थल सुरक्षाबारे के कस्ता कुराहरू ध्यानमा राख्नु पर्छ भन्ने बारे पनि एक सामाग्री प्रस्तुत गरेका थियौँ।
- भिसा, पासपोर्ट देखि यात्रा कागजात र अन्य अधिकांश नेपाल सरकारसँग सम्बन्धित कार्यहरूका लागि क्यानबेरामा अवस्थित नेपाली दूतावास जानु पर्ने गरेकोमा नेपाली ई-पासपोर्ट बनाउन क्यानबेरामा रहेको दूतावास नै पुग्नु पर्ने झन्झट हट्ने बारे नेपाली दूतावासले एसबीएस नेपालीलाई बताएको थियो।
- भदौमा मेलबर्नमा भएको भारतीय फिल्म महोत्सवमा बलिवुडका ठुलठुलादेखि केही नेपाली भाषाका सिनेमाहरू पनि प्रदर्शनमा आएका थिए। जसमध्येका द साइलेन्ट एको, बाघथान र गड्स बफेलोका निर्माण टोलीसँग हामीले कुराकानी गर्यौँ।
- अस्ट्रेलियामा नेपाली चाडपर्वहरू मनाउन आयोजित विभिन्न कार्यक्रमहरूबारे जानकारी दिने क्रमको निरन्तरता स्वरूप सिड्नीमा तीज मनाइएको बारे पनि चर्चा गर्यौँ।
- भाद्र २३ गते बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधन भयो र उनको सम्झनामा केही नेपालीहरूको प्रतिक्रिया सहितका सामाग्रीहरू राखेका थियौँ।
- सोही महिना आयोजना भएको नेपाल फेस्टिभल मेलबर्न २०२२ मा एसबीएस नेपालीको उपस्थिति रहेको थियो। मेलबर्नको फेडेरेसन स्क्वायरमा आयोजना गरिएको सो महोत्सवमा उपस्थित भएकाहरूले नेपाल भन्दा राम्रोसँग नेपाली संस्कृतिको संरक्षण गरिएको बताएका थिए।
- अस्ट्रेलियाको दोस्रो ठुलो दूरसञ्चार कम्पनी अप्टसले उपभोक्ताहरूको जानकारीहरू जोखिममा पार्ने घटना भएको पुष्टि गर्यो। र त्यो त सुरुवात मात्र थियो अस्ट्रेलियाका ठुला कम्पनीहरूमा साइबर हमलाको। केही महिनाको अन्तरालमा नै अस्ट्रेलियाको बिमा कम्पनी मेडिबैंकमा साइबर आक्रमण भयो। यस घटनामा साइबर अपराधीहरूले फिरौती रकमको माग गर्दै पटक पटक गरी उपभोक्ताहरूको गोप्य जानकारीहरू सार्वजनिक गरेका थिए।
- अस्ट्रेलियाली आदिवासीहरूको आवाजलाई संसद्मा बलियो बनाउन भोइस टु पार्लियामेन्टको वर्षौँ देखिको माग अन्तर्गत जनमत सङ्ग्रहको विज्ञापन अभियान असोजबाट नै सुरु भयो। र अहिले पनि जनमत सङ्ग्रहमा प्रयोग हुने शब्दहरू सार्वजनिक भइसकेपछि विपक्षीहरूबाट संविधान संशोधनलाई लिएर विरोध भइरहेको छ।
- अनि आयो दशैँ। नेपालमा मात्र नभई अस्ट्रेलियामा पनि दशैँ भव्यताका साथ मनाएको देख्दा घुम्न आएका अभिभावकहरूले पनि आफ्नो उत्साह व्यक्त गरे।
- लगत्तै आउने तिहारमा एसबीएस नेपालीले यसको सांस्कृतिक पाटोलाई बृहत् अस्ट्रेलियाली समाज समक्ष पनि प्रस्तुत गर्ने जमर्को सहित तिहार विशेष कार्यक्रमको आयोजना गर्यो। जहाँ एसबीएस कै प्राङ्गणमा नेपालीहरूको एक समूहले देउसी भैलो खेलेर रमाइलो बाँडेका थिए।
- यसबिचमा बाढी सङ्कटका कारण धेरै अस्ट्रेलियाली अस्थायी आश्रय लिन बाध्य भए भने केहीले ज्यान समेत गुमाए। कोभिड-१९ जानकारी सँगै हामीले बाढी र आँधीबेहरी सङ्कट बारे पनि निरन्तर अपडेट दिइराख्यौँ।
- अस्ट्रेलियाका विभिन्न राज्य तथा प्रदेशमा बस्ने नेपाली समुदायले नेपाल फेस्टिभल २०२२ मनाउने क्रमले निरन्तरता पाई नै रहेको थियो। टास्मेनिया र सिड्नीमा पनि एसबीएस नेपालीको प्रत्यक्ष सहभागितामा लेख, कुराकानी र तस्बिरमा यी कार्यक्रमहरू कैद भए। त्यस्तै डार्विन, होबार्ट, पर्थ र वर्षको अन्त्यतिर एडिलेडको नेपाल फेस्टिभल बारे पनि सम्प्रेषण गर्यौँ।
- मङ्सिरमा भव्य उद्घाटनबिच सुरु भयो विश्वकप २०२२। र हामीले निरन्तर विश्वकप अपडेट अस्ट्रेलियामा सामुदायिक फुटबलमा आबद्ध रहेका राजीव प्रधानको समीक्षा सहित प्रसारण गर्यौँ।
- अस्ट्रेलियाका नेपाली समुदायका विभिन्न जातजातिले आ-आफ्नो परम्परा अनुसार नयाँ वर्ष ल्होसार मनाउने क्रम सुरु भयो।
- माघमा नेपाली पृष्ठभूमिकी पूर्व नर्सिङ असिस्टेन्टले उत्तर-पश्चिमी सिड्नीको वृद्ध हेरचाह केन्द्रका निवासीहरूमाथि हातपात गरेको आरोप अदालत सामु स्वीकार गरिन्। र अघिल्लो महिना मात्र आएको अदालतको फैसलाले अस्मिता पाण्डेले आठ महिना सामुदायिक सेवामा बिताउनु पर्ने निर्णय सुनायो।
- फागुन १० मा सिड्नीबाट अवैध लागूपदार्थ तस्करी गरेको आरोपमा दुई नेपाली नागरिक ब्रिस्बेनमा पक्राऊ परे।
वि.स. २०७९ लाई बिदाइ गर्दै गर्दा अस्ट्रेलियामा बहसको विषय बनेको छ आदिवासीहरूको आवाज संसद्मा राख्ने भोइस जनमत सङ्ग्रह।
यस वर्ष जनमत सङ्ग्रहबारे त जानकारी दिने नै छौँ, साथै अस्ट्रेलियाको नेपाली समुदायका चासोका विषयहरूलाई एसबीएस नेपालीले निरन्तर प्राथमिकतामा राख्ने छ।
एसबीएस नेपालीका तर्फबाट नयाँ वर्ष २०८० को तपाइहरू सम्पूर्णमा हार्दिक शुभकामना।
